काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध दुर्व्यसन उपचार (रिह्याब) केन्द्रमा भएको हवाई आक्रमणपछि दर्जनौंको मृत्यु तथा ठूलो संख्यामा घाइते भएको आशंका गरिएको छ। तालिबान नेतृत्वको सरकारले आक्रमणको आरोप पाकिस्तानमाथि लगाएको छ।
सोमबार साँझ भएको उक्त आक्रमणमा मानवीय क्षति भएको सरकारी प्रवक्ताले जनाएका छन्। यद्यपि पाकिस्तानले स्वास्थ्य संस्थामाथि आक्रमण नगरेको दाबी गर्दै काबुल र पूर्वी प्रान्त नंगरहारमा रहेका “सैन्य संरचना तथा आतंकवादी पूर्वाधार” मात्र लक्षित गरिएको स्पष्ट पारेको छ। घटनास्थल पुगेको बीबीसी टोलीले आगो अझै बलिरहेको अवस्थामा ३० भन्दा बढी शव बाहिर निकालिएको देखेको जनाएको छ। केन्द्रमा करिब २ हजार व्यक्ति उपचाररत रहेको जनाइएको छ, जसका आधारमा हताहती संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। अफगान स्वास्थ्य मन्त्रालयका अनुसार उक्त क्षेत्र आसपास कुनै सैन्य संरचना नरहेको दाबी गरिएको छ। स्थानीय बासिन्दाले साँझ करिब ८:५० बजे ठूलो विस्फोटसँगै आकाशमा विमान र हवाई सुरक्षा प्रणालीको आवाज सुनेको बताएका छन्। घटनापछि उपचाररत व्यक्तिका आफन्तहरू केन्द्र बाहिर भेला भई आफ्ना परिवारजनको अवस्थाबारे जानकारी खोजिरहेका छन्। तालिबानका एक प्रवक्ताले मृतक संख्या ४०० नाघ्न सक्ने दाबी गरे पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
उता पाकिस्तानको सूचना मन्त्रालयले भने आक्रमण “अत्यन्त सावधानीपूर्वक” गरिएको दाबी गर्दै अफगानिस्तानको आरोपलाई अस्वीकार गरेको छ। उक्त स्थान पूर्व अमेरिकी सैन्य अड्डा रहेको र सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि यसलाई पुनःस्थापना केन्द्रमा रूपान्तरण गरिएको थियो। उद्धार टोलीहरूले मंगलबारसम्म पनि भग्नावशेषमा खोज तथा उद्धार कार्य जारी राखेका छन्। घटनास्थलमा ध्वस्त संरचना, जलेका झ्याल र छरिएका सामग्री देखिएका छन्। पछिल्लो समय अफगानिस्तान–पाकिस्तान सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। पाकिस्तानले तेहरेक ए-तालिबान पाकिस्तान टिटिपीलाई अफगानिस्तानले आश्रय दिएको आरोप लगाउँदै आएको छ, जसलाई तालिबान सरकारले अस्वीकार गर्दै आएको छ। संयुक्त राष्ट्रसंघीय सहायता मिशन इन अफगानिस्तान युएनएएमएका अनुसार फेब्रुअरी २६ यता सीमावर्ती झडपमा कम्तीमा ७५ जनाको मृत्यु र १९३ जना घाइते भएका छन्। गत अक्टोबरमा भएको युद्धविरामपछि पनि छिटफुट झडप जारी छन्। तनाव घटाउने प्रयासस्वरूप चीनले दुवै देशलाई संयम अपनाउन र शीघ्र संवादमा बस्न आग्रह गरेको छ।