काठमाडौँ । इरानबाट क्षेप्यास्त्र र ड्रोन हमलाको चेतावनीपछि बन्द रहेको संयुक्त अरब एमिरेट्स यूएईको हवाई क्षेत्र आंशिक खुलेको छ। त्यसअघि यूएईको नागरिक उड्डयन मन्त्रालय र देशका रक्षामन्त्रीले निश्चित अवधिका लागि हवाई क्षेत्र बन्द गरिएको बताएका थिए।यसअघि सोमवार पनि बन्द गरिएको हवाई क्षेत्र खुला भएर इतिहाद र एमिरेट्स वायुसेवाले केही उडान सुरु गरेको केही समयपछि पुन: हवाई क्षेत्र बन्द गरिएको थियो।
समाचार संस्था रोएटर्सले यूएईको सरकारी सञ्चार माध्यमलाई उद्धृत गर्दै बन्द गरिएको हवाई क्षेत्र खुला भएको बताएको छ। हवाई क्षेत्र खुला भएसँगै देशको आकाशमा विमानहरूको आवतजावत साधारण अवस्थामा फर्किएको नागरिक उड्डयनले जनाएको छ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागीपछि त्यहाँको नागरिक उड्डयन प्राधिकरणले सोमवारदेखि निश्चित अवधिका लागि उडान बन्द गरेको थियो। विमानस्थल खुलेपछि राष्ट्रिय ध्वजावाहक एमिरेट्सले नियमित भन्दा घटाइएका सङ्ख्यामा उडानहरू सुरु गर्ने तालिका सार्वजनिक गरेको थियो। देशको अर्को प्रख्यात वायुसेवा इतिहादले पनि आबुधाबीबाट सीमित व्यावसायिक उठानहरू जारी राखेको थियो।