काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन्।
उनले ‘संघर्षको राजनीति’ भने जारी राख्ने बताउदै उनले भनेका छन् ‘म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन । पार्टीलाई आवश्यकता रहेसम्म नेत्तृत्व दिँदै अगाडि बढाउने छु । दुई पटक व्यक्तिगत ईच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें। तर दुईटै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु।’
उनले अगाडि लेखेका छन् ‘कतिखेर संसदीय र पदको राजनीतिबाट विश्राम लिऔं भनेर मौका खोज्दा-खोज्दा २०८२ को निर्वाचन नलड्ने पक्कापक्की थियो।’ उनले २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएको र जनतामाझ जान रोक लगाएपछि पार्टी गठन गर्नुपर्ने अवस्था आएको स्मरण गरेका छन्। सो क्रममा अरू नेताहरूले अध्यक्ष बन्न नमानेपछि आफू नै पार्टीको नेतृत्व सम्हाल्नुपरेको उनले उल्लेख गरेका छन्।