काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बढ्दो तनावका बीच हर्मुज जलमार्ग हुँदै गुज्रने जहाजहरूको सुरक्षाका लागि विभिन्न देशलाई समेटेर अन्तर्राष्ट्रिय गठबन्धन बनाउने पहल थालेका छन्।
ट्रम्पले हर्मुज मार्गमार्फत तेल आयातमा अत्यधिक निर्भर करिब सात देशलाई जहाज सुरक्षा सुनिश्चित गर्न संयुक्त प्रयासमा सहभागी हुन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै हर्मुज मार्ग विश्वव्यापी तेल आपूर्ति गर्ने मुख्य मार्ग भएकाले सम्बन्धित देशहरूले यसको सुरक्षा आफैं सुनिश्चित गर्नुपर्छ र अमेरिकाले त्यसमा सहयोग गर्ने बताए। “हर्मुज मार्गबाट तेल प्राप्त गर्ने देशहरूले त्यस मार्गको सुरक्षा गर्नुपर्छ, र अमेरिकाले सहयोग गर्नेछ,” ट्रम्पले उल्लेख गरेका छन्। साथै उनले सम्बन्धित देशहरूसँग समन्वय गरेर जहाजहरूको आवतजावत सहज बनाउने प्रतिवद्धता पनि जनाएका छन्। अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रीट जर्नलका अनुसार ट्रम्प प्रशासनले विभिन्न देशको सहमतिमा हर्मुज जलमार्गमा जहाज सुरक्षा सुनिश्चित गर्न गठबन्धन गठन गर्ने योजना बनाइरहेको छ।
अमेरिकी अधिकारीहरूले भनेको छ कि यो अभियान इरानविरुद्ध सम्भावित सैन्य कारबाही अघि वा पछि सुरु गर्ने विषयमा छलफल भइरहेको छ। हर्मुज मार्ग विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। अनुमान अनुसार विश्वको करिब २० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै ओसारपसार हुन्छ। मध्यपूर्वको बढ्दो तनावका कारण यस मार्गको सुरक्षाबारे अन्तर्राष्ट्रिय चिन्ता बढेको छ। यसैबीच, बेलायतका प्रधानमन्त्री केइर स्ट्रार्मरले ट्रम्पसँग टेलिफोन वार्ता गर्दै हर्मुज जलमार्ग बन्द हुँदा विश्वव्यापी ढुवानी र व्यापारमा परेको असरबारे छलफल गरेका छन्। स्ट्रार्मरले जलमार्ग पुनः सञ्चालनमा ल्याउन आवश्यकतालाई जोड दिएका छन्। अष्ट्रेलियाले भने तेल बोकेका ट्यांकरहरूको सुरक्षाका लागि हर्मुजमा नौसैनिक जहाज पठाउने योजना नगर्ने स्पष्ट पारेको छ। अष्ट्रेलियाकी पूर्वाधार तथा यातायात मन्त्री क्याथरिन किङले सो क्षेत्रमा सैन्य जहाज नपठाउने बताएकी छिन्।