काठमाडौँ । संयुक्त अरब इमिरेट्सको दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ। दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त आक्रमणका कारण विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको हो।
घटनापछि सिभिल डिफेन्सका टोलीहरू आगो नियन्त्रणमा लिन खटिएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन। सारजहाँ ट्वान्टी फोर अनलाइनले दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुईवटा ड्रोन खसेको जनाएको छ। फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र बन्दै गएका छन्। त्यसयता खाडीका विभिन्न मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेको जनाइएको छ। यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डासँगै तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन्। सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएईमाथि यस्ता आक्रमणको प्रभाव तुलनात्मक रूपमा बढी परेको बताइएको छ। यद्यपि खाडीका अन्य अरब मुलुकहरू पनि यसबाट प्रभावित भएका छन् र ती देशहरूले इरानको आलोचना गर्दै आएका छन्।