काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जसरी भए पनि चाँडै होर्मुज जलमार्ग खोलिने बताएका छन् । उनले उक्त जलमार्ग खुला, सुरक्षित र स्वतन्त्र बनाउने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतले सो व्यापारिक मार्गमा आफ्ना युद्धपोतहरू पठाउने आशा व्यक्त गरेका छन् । धेरै देशहरूले उक्त प्रमुख ढुवानी मार्ग खुला र सुरक्षित राख्न युद्धपोतहरू पठाउने पनि ट्रम्पको भनाइ छ ।
अमेरिकाले तटीय क्षेत्रमा भीषण बमबारी गर्ने र इरानी डुंगा तथा जहाजहरूलाई निरन्तर पानीमा डुबाइदिने ट्रम्पको चेतावनी छ । अमेरिकाले इरानको सैन्य क्षमता १०० प्रतिशत नष्ट गरेको दाबी गर्दै ट्रम्पले उनीहरूका लागि ड्रोन र छोटो दूरीका मिसाइलहरू प्रयोग गर्न अझै पनि सजिलो रहेको बताएका छन् । उता, जेनेभाका लागि इरानी प्रतिनिधि अली बहराइनीले तेहरानको क्षमता समाप्त गर्नेबारे ट्रम्पको दाबी मनगढन्ते र झूटमा आधारित रहेको बताएका छन् ।