काठमाडौँ । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले पद सम्हालेयताकै पहिलो पटक सार्वजनिक सन्देश जारी गरेका छन्। बिहीबार इरानको सरकारी टेलिभिजनमा एक प्रस्तोताले खामेनीको सन्देश प्रसारण पढेर सुनाएका हुन्। सन्देशमा उनले इरानमा अमेरिका र इसराइलले इरानमा गरेको आक्रमण विरूद्ध कडा प्रतिक्रिया दिएका छन्।
फेब्रुअरी २८ मा ती दुई देशले संयुक्त आक्रमण गरी इरानमा त्यतिबेला सर्वोच्च नेता रहेका आयातोल्लाह अली खामेनीसहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो। दक्षिणी इरानको मिनाबमा रहेको एउटा विद्यालयमा हवाई हमला गरी १७५ भन्दा बढी विद्यार्थीहरूको पनि हत्या गरिएको थियो। नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले पहिलो पटक जारी गरेको सन्देशमार्फत रगतको बदला रगतबाटै लिने बताएका छन्। उनले समुद्री मार्ग स्ट्रेट अफ हर्मुज बन्द गर्ने रणनीति जारी राख्न पनि सेनालाई निर्देशन दिएका छन्।
यो जलमार्ग भएर विश्वका २० प्रतिशत तेल ढुवानी हुन्छ। इरानमा हमलापछि उसले त्यहाँ नाकाबन्दी लगाएको छ। त्यहाँबाट आवतजावत गर्ने तेल ट्यांकरहरूलाई उसले निशाना बनाइरहेको छ। नयाँ सर्वोच्च नेता खामेनीले स्ट्रेट अफ हर्मुज बन्द गर्ने निर्णय कार्यान्वयनमा खटिरहन सेनालाई निर्देशन दिएका छन्। उनले मध्यपूर्वका अन्य देशहरूलाई पनि अमेरिकी सेनाले प्रयोग गर्दै आएका सैन्य अड्डाहरू बन्द गर्न चेतावनी दिएका छन्। इरानी सुरक्षा मामिलाका विश्लेषक हमिदरेजा अजिजीका अनुसार नयाँ सर्वोच्च नेताको सन्देश उनको पिताको तुलनामा अझ कडा र स्पष्ट सैन्य रणनीति झल्काउने खालको रहेको बताएका छन्।