काठमाडौँ । पशुपतिनाथ क्षेत्रअन्तर्गत सञ्चालन हुने पशुपति देवपत्तनका पूजा र जात्राको समय तालिका सार्वजनिक भएको छ। फागुन २७ गतेदेखि चैत्र ६ सम्म पूजा, पर्व र जात्राका कार्यक्रम सञ्चालन हुने भएका छन्।
कार्यक्रम अनुसार पशुपति देवपत्तनमा पूजा, पाहाँचरे पर्व, माता श्री वत्सलेश्वरी देवी र माता बज्रेश्वरी देवीको पूजा तथा जात्रा आयोजना गरिनेछ। चैत्रकृष्ण चतुर्दशीको दिन, राति ९ः ३० बजे, श्रीवत्सलेश्वरी देवीमा कर्मचारी पूजाका लागि आकाश भैरव, महादेव र वत्सलेश्वरी माताको प्रतिमूर्ति घटमा राखेर श्रीवत्सलेश्वरी मन्दिरमा लैजाने कार्यक्रम हुनेछ। चैत्रकृष्ण औँसी र प्रतिपदाको दिन, बिहान ७ः०० बजे देखि राति ५ः०० बजे सम्म तिलगंगा टोलबाट बज्रेश्वरीको मूर्ति इन्द्रायणीमा ल्याइनेछ।
यसै दिन श्रीवत्सलेश्वरीको घटयात्रा सुरु हुनेछ। माता श्रीवत्सलेश्वरी र आकाश भैरवको जात्रासमेत आरम्भ हुनेछ। चैत्र ५, बिहीबार राति ५ः०० बजे, पशुपतिनाथ मन्दिर तहबिलबाट विशेष पूजा सञ्चालन हुनेछ सोही दिन राति ९ः०० बजे, पशुपतिनाथ अमलकोट कचहरीबाट बाजागाजा सहित श्रीका मूलपूजारी निवासमा जाने कार्यक्रम छ। मूलपूजारीज्यूबाट सम्पूर्ण रकम वितरण र कर्मचारीलाई पगरी बाँड्ने काम सम्पन्न हुनेछ।