काठमाडौँ। चीनमा विकास गरिएको कृत्रिम बुद्धिमत्ता एआई प्रविधिमा आधारित विशेष चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउने सम्भावना देखाएको छ। हाङझाउ सहरमा तयार पारिएको यो प्रविधिले दृष्टिविहीनलाई बाटो चिन्न, अवरोध पहिचान गर्न र गन्तव्यसम्म पुग्न सहयोग गर्न थालेको बताइएको छ।
हाङझाउकी काइ क्योङहुईले सात वर्षको उमेरमै दृष्टि गुमाएकी थिइन्। अहिले उनी पियानो ट्युनरका रूपमा काम गर्छिन् र अन्य दृष्टिविहीन संगीतकर्मीसँग मिलेर अर्केस्ट्रामा प्रस्तुति पनि दिने गर्छिन्। तर एक्लै हिँडडुल गर्नु भने अझै चुनौतीपूर्ण हुने उनी बताउँछिन्। उनका अनुसार अहिले प्रयोगमा रहेका धेरै नेभिगेसन सफ्टवेयरले गन्तव्य नजिक पुगेपछि सही जानकारी दिन सक्दैनन्। “अन्तिम १० मिटरको दूरीमा धेरैजसो नेभिगेसन प्रणाली असफल हुन्छन्। त्यसैले कहिलेकाहीँ म बाटो हराउँछु र गन्तव्य भेट्टाउन गाह्रो हुन्छ,” उनले भनिन्।
यही समस्या समाधान गर्ने उद्देश्यले हाङझाउस्थित एक प्रविधि कम्पनीले दृष्टिविहीन व्यक्तिका लागि एआई चस्मा विकास गरेको हो। कम्पनीका अनुसार सडक क्रसिङ, सिँढी र सम्भावित जोखिम पहिचान गर्न प्रणालीलाई तालिम दिन आधा वर्षभन्दा बढी समय डाटा संकलन गरिएको थियो। प्रविधिको प्रतिक्रिया समय पनि सुधार गरिएको छ। सुरुमा करिब ५०० मिलिसेकेन्ड लाग्ने प्रणालीलाई घटाएर करिब ३०० मिलिसेकेन्डमा ल्याइएको छ, जसले प्रयोगकर्तालाई अझ छिटो र सुरक्षित जानकारी दिन सक्छ। अलिबाबा क्लाउडका टोंगयी छियानवेन ठूलो भाषा मोडेल सेवाका महाप्रबन्धक स्यू डोङका अनुसार यस्तो एआई प्रणालीले वातावरणसँग मानिसजस्तै अन्तर्क्रिया गर्न सक्छ। उनका अनुसार यो प्रविधि दृष्टिविहीनका लागि “आँखा, कान र मुख” जस्तै सहायक बन्ने र उनीहरूको जीवनलाई सहज बनाउने विश्वास गरिएको छ। बजार अनुसन्धान कम्पनी ओम्डियाका अनुसार एआई चस्माको बजारमा चीन अमेरिकापछि दोस्रो ठूलो बजार बन्ने तयारीमा छ। यस वर्ष मात्रै करिब १२ लाख युनिट एआई चस्मा निर्यात हुने अनुमान गरिएको छ।