एजेन्सीः अमेरिका–इजरायल गठबन्धन र इरानबीचको क्षेत्रीय युद्धका कारण गाजा क्षेत्रमा खाद्यान्नको चरम अभाव र महँगी बढेको छ। फेब्रुअरी २८ मा इजरायलले सुरक्षाको कारण देखाउँदै सीमा नाकाहरू बन्द गरेपछि मानवीय सहायता र व्यावसायिक आपूर्ति रोकिएकाले यहाँको जनजीवन अस्तव्यस्त बनेको हो।
क्षेत्रीय तनावका कारण आपूर्ति श्रृङ्खला टुटेपछि गाजाका बासिन्दाहरू आफूसँग भएको पैसाले भ्याएसम्मका खाद्यान्न भण्डारण गर्न हतारिएका छन्। स्थानीय व्यापारी र बासिन्दाका अनुसार केही दिनमै उपभोग्य वस्तुको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएको छ।
अल जजीराका प्रतिनिधि हानी महमुदका अनुसार, “आज बजारमा जे उपलब्ध छ, त्यो भोलि नहुन सक्छ भन्ने त्रासले गर्दा मानिसहरूमा अन्यौलता बढेको छ। सीमा नाकामा भएको कडाइको प्रत्यक्ष असर भान्सासम्म पुगेको छ।“
एक महिना अघि प्रति किलो १.५० डलरमा पाइने टमाटरको मूल्य अहिले ४ डलर (करिब ५३० नेपाली रुपैयाँ) पुगेको छ। त्यस्तै, आलु र काँक्रोको मूल्य पनि छोइनसक्नु भएको छ। बजारमा खाना पकाउने तेल, पीठो र क्यानमा राखिएका खाद्य सामग्रीहरू पसलका ¥याकबाट पूर्ण रूपमा हराइसकेका छन्।