तेहरान । अमेरिका–इजरायलको आक्रमणमा परि १ हजार २५५ जनाको मृत्यु भएको जनाएको छ । उक्त आक्रमणमा परि १२ हजार नागरिक घाइते भएको जनाएको छ । इरानी स्वास्थ्य उपमन्त्री अली जाफरियनका अनुसार देशभर भएका अमेरिकी–इजरायली आक्रमणमा परी मृत्यु हुने र घाइते हुनेमा अधिकांश सर्वसाधारण रहेका छन्। साथै, तेल सुविधाहरूमा भएको बमबारीका कारण राजधानी तेहरानमा विषाक्त धुवाँ फैलिएको छ ।
सोमबार अल जजीरासँग कुरा गर्दै जाफरियनले इरानमा कम्तीमा १ हजार २५५ जनाको मृत्यु भएको बताए, जसमा २०० बालबालिका र ११ स्वास्थ्यकर्मी रहेका छन्। मृतकहरूको उमेर ८ महिनादेखि ८८ वर्षसम्म रहेको छ।
पीडितहरूमध्ये अधिकांश नागरिक रहेको दाबी गर्दै जाफरियनले भनेः “उनीहरू आफ्नै घरमा वा कार्यस्थलमा बसिरहेका थिए।“
उनका अनुसार १२,००० भन्दा बढी मानिस घाइते भएका छन्, जसमध्ये धेरैजसो जलेका र किचिएका छन्। अहिलेसम्म २९ वटा क्लिनिकल सुविधाहरूमा क्षति पुगेको छ र तीमध्ये १० वटा बन्द गर्न बाध्य पारिएको छ। यसबाहेक ५२ वटा स्वास्थ्य केन्द्र, १८ वटा आपतकालीन सेवा केन्द्र र १५ वटा एम्बुलेन्सहरू पनि क्षतिग्रस्त वा नष्ट भएका छन्।
शनिबार ढिलो गरी इजरायली हवाई आक्रमणले युद्ध सुरु भएदेखि पहिलो पटक इरानको तेल सुविधाहरूमा प्रहार गरेपछि जाफरियनले जनस्वास्थ्यमा पर्ने जोखिमबारे चेतावनी दिएका छन्। उक्त आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको थियो।
तेहरानको आकाशमा भरिएको बाक्लो धुवाँलाई संकेत गर्दै उनले भने, “हिजो दिउँसोसम्म पूरै सहर अन्धकार थियो।“