काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पाँच पूर्वसुरक्षाकर्मीले पहिलो प्रयासमै संसद् यात्रा तय गरेका छन् । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मार्फत सुरक्षा निकायबाट अवकाश लिएर राजनीतिमा होमिएका पाँच पूर्वसुरक्षाकर्मी प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । उनिहरु सबै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उठाएका उम्मेदवार हुुन् ।
ओखलढुंगाबाट उम्मेदवार बनेका पूर्वएआईजी विश्वराज पोखरेल विजयी भए । उनले सबैभन्दा साँघुरो जित निकाले हुने । पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत पाए । जम्मा ५ मतान्तरको यो जित हालसम्मकै सबैभन्दा कम अन्तरको परिणाम हो।
कपिलवस्तु–२ मा पूर्वएसएसपी विक्रम सिंह थापा विजयी भए । उनले कांग्रेसका सुरेन्द्र राज आचार्यलाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् । उनले २७ हजार ६३५ मतसहित विजयी हुँदाउनका प्रतिस्पर्धी कांग्रेसका आचार्यले २१ हजार ५२७ मत पाए । गुल्मी–२ मा पूर्वडीएसपी गोविन्द पन्थीले एमाले उपाध्यक्ष गोकर्ण विष्टलाई ४९६ मतले पराजित गरे । पन्थीले १६ हजार ८७८ मत ल्याउँदा विष्टले १६ हजार ३८२ मत पाए ।
काठमाडौं–३ मा महानगर प्रहरीका पूर्वप्रमुख (एसएसपी) राजुनाथ पाण्डे ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै १८ हजार ७५७ मतसहित जित निकाले । घिसिङले ११ हजार १७१ मत पाए । महानगर प्रहरीबाटै राजनीतिमा प्रवेश गरेका पाण्डे पहिलो प्रयासमै सफल भए। झापा–४ बाट शम्भुप्रसाद ढकाल (शम्भु सुस्केरा)४३ हजार ६३१ मतसहित विजयी भए । एमालेका एलबी साँवा लिम्बुले ११ हजार ९८६ मत पाए । २२ वर्ष प्रहरी सेवापछि सई पदबाट राजीनामा दिएका सुस्केरा साहित्य र सञ्चार क्षेत्रमा समेत सक्रिय थिए।