काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले खेलाडी, दर्शक तथा क्रिकेटप्रेमीलाई सुरक्षा र अनुशासन कायम राख्न आग्रह गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन प्रहरीले सोमबार सात बुँदे आग्रह सार्वजनिक गरेको हो। प्रहरीले गैरकानुनी बेटिङ तथा सट्टेबाजीमा संलग्न नहुन र अरूलाई पनि त्यस्ता गतिविधिमा सहभागी नगराउन अनुरोध गरेको छ। त्यस्तै, रंगशालाभित्र निषेध गरिएका सामग्री नलैजान र खेल हेर्न जाँदा व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन भनिएको छ।
खेलका क्रममा जात, धर्म, लिङ्ग, वर्ण, भूगोल, संस्कृति र परम्परालगायत विविधताको सम्मान गर्न पनि प्रहरीले दर्शकलाई आग्रह गरेको छ। त्यसैगरी, पाकेटमारी तथा चोरीबाट जोगिन सतर्क रहन, सुरक्षा जाँचमा अनिवार्य सहयोग गर्न र सुरक्षाकर्मीले दिएका निर्देशन पालना गर्न अनुरोध गरिएको छ। प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले रंगशालाभित्र प्रवेश गर्न टिकट आवश्यक पर्नेछ। प्रहरीले टिकट नपाएका दर्शकलाई रंगशालाको आसपास अनावश्यक भीड नगर्नसमेत आग्रह गरेको छ। एनपीएललाई उत्सवका रूपमा मनाउँदै गर्दा सुरक्षा, अनुशासन र आपसी सम्मान कायम राख्न प्रहरीले सबै क्रिकेटप्रेमीलाई अनुरोध गरेको छ।