काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा २४ घण्टाभित्र ९२ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ८४ जना पुरुष र ८ जना महिला रहेका छन्। प्रहरीले अपराध रोकथाम तथा नियन्त्रण गर्नुका साथै समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले विशेष निगरानी र कारबाही अभियान सञ्चालन गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उच्छृङ्खल गतिविधिमा संलग्न हुने तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिमाथि निगरानी बढाउँदै अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीले यस्ता गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न विशेष निगरानीलाई निरन्तरता दिएको बताएको छ।