काठमाडौं । काठमाडौँको तार्केश्वर नगरपालिका–४ बाट प्रहरीले हवाई फायर गर्दै एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३१ का ४१ वर्षीय बासुर्दिन मियाँ रहेका छन्।लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएका मियाँलाई जाँच गर्न खोज्दा उनले प्रहरीमाथि आक्रमण गरी भाग्ने प्रयास गरेका थिए। त्यसपछि उनलाई रोक्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको ब्यूरोका एसएसपी सुवास बोहराले जानकारी दिएका छन्।
प्रहरी अनुसन्धानअनुसार मियाँले पछिल्लो तीन महिनायता भारतको रक्सौलबाट पाँचदेखि छ पटकसम्म काठमाडौँमा खैरो हेरोइन ल्याएको खुलेको छ। पक्राउका क्रममा उनको साथबाट ३०० ग्राम खैरो हेरोइनसमेत बरामद भएको प्रहरीले जनाएको छ।यस घटनामा मियाँविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको छ। बरामद लागुऔषधको परिमाणका आधारमा कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।