काठमाडौं । भारतबाट लुकाएर पटाका ल्याउँदै गरेको आरोपमा दाङमा एक अटो चालक पक्राउ परेका छन्। प्रहरीले गढवा गाउँपालिका–८ चारखम्बाबाट अवैध पटाकासहित उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीमा बस्दै आएका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। प्रहरीका अनुसार अग्रवाल रा. १ ह. ४८१७ नम्बरको अटोमा कोइलाबास नाका हुँदै पटाका ल्याउँदै गर्दा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले बरामद पटाकाको बजार मूल्य दुई लाख १० हजार १३६ रुपैयाँ रहेको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।