पेरिस । मध्यपूर्वमा जारी युद्ध दोस्रो सातामा प्रवेश गर्दा आक्रमण, विस्फोट र प्रतिकारात्मक कारबाहीहरू तीव्र हुँदै गएका छन् ।
इरान, इजरायल र खाडी क्षेत्रका विभिन्न देशहरूमा भएका पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव थप बढाएको छ भने ऊर्जा आपूर्ति, समुद्री मार्ग र सुरक्षा अवस्थामाथि गम्भीर प्रभाव परेको छ ।
अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानी राजधानी तेहरानमा इन्धन वितरण अस्थायी रूपमा रोकिएको एक अधिकारीले बताएका छन् । तेहरान र आसपासका पाँच स्थानमा रहेका इन्धन भण्डारण तथा वितरण केन्द्रमा आक्रमण भएपछि ठूला आगलागी भएका थिए । बिहानैदेखि सहरका विभिन्न भागमा बाक्लो कालो धुवाँ देखिएको एएफपीका पत्रकारहरूले बताएका छन् ।
दक्षिणी लेबनानमा पनि इजरायलले इरान समर्थित हिजबुल्लाहसँग लडाइँ जारी राखेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २० भन्दा बढी सहर र गाउँमा भएको हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको छ । इरानभित्र पनि विभिन्न स्थानमा विस्फोटका घटना भएका छन् । आइतबार मध्य इरानको याजद प्रान्तमा विस्फोट भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् ।
इरना समाचार एजेन्सीका अनुसार याजद सहरको बाहिरी क्षेत्रमा विस्फोट भएको हो, तर यसको कारण तत्काल स्पष्ट हुन सकेको छैन । यसअघि तेहरान र इस्फहानसहित देशका अन्य भागहरूमा पनि विस्फोटका खबर आएका थिए ।