काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली दिदीबहिनी र दाजुभाइहरूले लोकतान्त्रिक अधिकारको उत्साहजनक प्रयोग गरेको टिप्पणी गरेका छन् । उनले नेपालमा सम्पन्न निर्वाचनबाट आफूलाई निकै खुसी लागेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले यस निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुङ्गा स्थापित भएको भन्दै यसलाई गौरवको क्षणका रूपमा चित्रण गरेका छन् । छिमेकी देशको रूपमा नेपालको यो उपलब्धिले दुई देशबीचको सम्बन्धमा नयाँ उर्जा थप्ने उनको भनाइ छ ।
एक निकट साझेदार र छिमेकीका नाताले भारत नेपालको विकास र स्थिरताको पक्षमा सधैँ उभिने प्रतिबद्धता पनि उनले जनाएका छन् । नेपालमा बन्ने नयाँ सरकार र जनतासँग मिलेर काम गर्न भारत सदैव तत्पर रहेको उल्लेख गर्दै उनले आगामी दिनमा दुई देशबीच साझा शान्ति, प्रगति र समृद्धिका लागि सहकार्यलाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।