काठमाडौं । नेपालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको बताइन्।
पत्रकार सम्मेलनमा चीनको सरकारी टेलिभिजन ड्रागन टीभीले नेपालको प्रतिनिधिसभा निर्वाचनबारे प्रतिक्रिया मागेको थियो।
जवाफमा माओ निङले चीनले नेपालले निर्धारित समयअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएको बताइन्।
माओ निङले चीन र नेपाल परम्परागत रूपमा मैत्रीपूर्ण छिमेकी मुलुक रहेको बताउँदै दुवै देशले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणका प्रयासमा एकअर्कालाई समर्थन गर्दै आएका उल्लेख गरिन् ।
उनले नेपालसँग मिलेर विकास र समृद्धिका लागि ‘दीर्घकालीन मित्रता’मा आधारित रणनीतिक सहकार्यलाई अझ अगाडि बढाउन चीन तयार रहेको पनि बताइन्।