काठमाडौँ । अमेरिकी न्याय विभागले एफबीआई का थप कागजातहरू प्रकाशित गरेको छ, जसमा एक महिलाले आफू किशोरी छँदा दिवंगत दोषी यौन अपराधी जेफ्री इप्सटिनमार्फत परिचय भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई यौन दुव्र्यवहार गरेको बताएकी छिन्।
यी दस्तावेजहरू इप्सटिनसँग सम्बन्धित अघिल्ला फाइलहरू सार्वजनिक गर्दा “दोहोरिएको“ भनी झुक्किएर चिनो लगाइएकाले पहिले सार्वजनिक भएका थिएनन्। डेमोक्र्याटहरूले ट्रम्प प्रशासनले इप्सटिन फाइलहरूलाई कसरी व्यवस्थापन गर्यो भन्नेबारे अनुसन्धान गरिरहेको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ ।
बिहीबार सार्वजनिक गरिएका दस्तावेजहरूमा सन् २०१९ मा एफबीआईले ती महिलासँग लिएका धेरै अन्तर्वार्ताहरूको विवरण समावेश छ। उनले १३ देखि १५ वर्षको उमेरमा इप्सटिन र ट्रम्प दुवैबाट बलात्कृत भएको आरोप लगाएकी छिन्।
एक अन्तर्वार्तामा ती महिलाले इप्सटिनले उनलाई ’न्युयोर्क वा न्युजर्सी’ लगेर ट्रम्पसँग परिचय गराएको बताएकी छिन्। ट्रम्पले उनलाई मुख मैथुनका लागि जबरजस्ती गर्न खोज्दा आफूले ट्रम्पलाई टोकिदिएको उनले अनुसन्धानकर्ताहरूलाई बताएकी छिन्। उनले आफू र आफ्ना नजिकका मानिसहरूलाई चुप लाग्नका लागि वर्षौंदेखि धम्कीपूर्ण फोनहरू आएको र त्यो इप्सटिनसँग सम्बन्धित रहेको विश्वास गरिन्।
एफबीआई रेकर्डका अनुसार एजेन्टहरूले सन् २०१९ मा उनीसँग कुरा गर्न छोडेका थिए। अक्टोबर २०१९ मा ट्रम्पको पहिलो राष्ट्रपतिकालमा लिइएको अन्तिम अन्तर्वार्तामा एजेन्टहरूले उनलाई ट्रम्पबारे थप जानकारी दिन इच्छुक हुनुहुन्छ भनी सोधेका थिए। जवाफमा उनले “आफ्नो जीवनको यो मोडमा जानकारी दिएर के फाइदा, जब केही पनि कारबाही हुने बलियो सम्भावना छैन“ भनी प्रश्न गरेकी थिइन्।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यी दाबीहरूलाई “पूर्णतया आधारहीन र कुनै विश्वसनीय प्रमाण नभएका आरोपहरू“ भनेकी छिन्। ट्रम्पले इप्सटिनसँग सम्बन्धित सबै आरोपहरूको खण्डन गर्दै आउनुभएको छ।
पाँच दिनअघि अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गर्नुभन्दा पहिले इप्सटिन फाइलहरूको चर्चा विश्वभर भइरहेको थियो। तर बमबारी सुरु भएपछि यो विषय ओझेलमा परेको छ।
रिपब्लिकन कंग्रेस सदस्य थॉमस मासीले भनेका छन्, “विश्वको अर्को छेउमा बमबारी गर्दैमा इप्सटिन फाइलहरू हराउने छैनन्।“ विश्लेषक शायल बेन–एफ्रैमका अनुसार ट्रम्पलाई आफ्नो आन्तरिक समस्याहरूबाट ध्यान मोड्न युद्धको आवश्यकता थियो। गुगलमा इप्सटिन फाइलहरूबारेको खोज युद्ध सुरु भएयता ह्वात्तै घटेको छ, जसले गर्दा यो रणनीति अस्थायी रूपमा सफल भएको देखिन्छ।