काठमाडौँ । अमेरिका र इसराइलले इरानको इस्लामिक शासन ढाल्ने उद्देश्यले त्यहाँका कुर्द समूहलाई हतियार दिने तयारी गरेको खबर सार्वजनिक भएको छ। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कुर्द विद्रोहीलाई प्रयोग गरेर इरानभित्र स्थलगत आक्रमण गराउने योजना बनाइएको बताइएको छ।
शनिबार अमेरिका र इसराइलले इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ। प्रारम्भिक आक्रमणमा केही वरिष्ठ सैन्य तथा राजनीतिक अधिकारी मारिएको दाबी गरिएको छ। त्यसपछि इरानमाथि लगातार हवाई आक्रमण भइरहेको बताइएको छ।
हवाई आक्रमण मात्र पर्याप्त नहुने ठहर गर्दै कुर्द विद्रोहीलाई हतियार उपलब्ध गराएर भित्रबाट आक्रमण गराउने योजना बनाइएको भनिएको छ।
तर ह्वाइट हाउसले भने यस्तो योजना नरहेको दाबी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्द मिलिसियाको आक्रमणलाई समर्थन गर्ने निर्णय नगरेको अमेरिकी प्रशासनले जनाएको छ।