एजेन्सी । इरानको दक्षिणी सहर मिनाबमा शनिबार एक बालिका प्राथमिक विद्यालयमा भएको भीषण आक्रमणमा मारिएका बालबालिका र शिक्षकहरूको सामूहिक अन्त्येष्टि गरिएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा परी कम्तीमा १६८ बालबालिका र १४ शिक्षकले ज्यान गुमाएका छन्।
मंगलबार आयोजित अन्त्येष्टि कार्यक्रममा हजारौँको संख्यामा स्थानीय बासिन्दा र अधिकारीहरूको उपस्थिति रहेको समाचारमा उल्लेख गरिएकाे छ । शोकाकुल जनसमुदायले मारिएका ७ वर्षसम्मका साना बालबालिकाहरूको तस्बिर हातमा लिएर प्रदर्शन गरेका थिए।
अन्त्येष्टिका क्रममा खिचिएका भिडियो र तस्बिरहरूमा इरानी झण्डा ओढाइएका साना कफिनहरू वरिपरि बसेर मानिसहरूले प्रार्थना गरिरहेको देख्न सकिन्छ। इरानी रेड क्रिसेन्टका अनुसार हालसम्म विभिन्न १५३ क्षेत्रहरूमा गरी कम्तीमा ७८० जनाको मृत्यु भइसकेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल ’एक्स’ मा भर्खरै खनिएका चिहानहरूको तस्बिर पोस्ट गर्दै यस हत्याकाण्डको कडा निन्दा गरेका छन्। उनले भनेका छन् “यी चिहानहरू प्राथमिक विद्यालयमा अमेरिकी–इजरायली बमबारीमा मारिएका १६० भन्दा बढी निर्दोष बालिकाहरूका लागि खनिएका हुन्। उनीहरूको शरीरका टुक्रा–टुक्रा पारिएको छ।“
अर्कोतर्फ, अमेरिकी विदेशमन्त्री मार्क रुबियोले भने अमेरिकाले जानीजानी विद्यालयलाई निशाना नबनाउने स्पष्ट पारेका छन्। “यदि यो हाम्रो तर्फबाट भएको आक्रमण हो भने युद्ध विभागले यसको छानबिन गर्नेछ,“ रुबियोले पत्रकारहरूसँग भने।
हाल इजरायलले इरानमाथि आफ्ना हवाई आक्रमणहरू तीव्र पारेको छ। मंगलबार सार्वजनिक भएका अन्य तस्बिरहरूमा राजधानी तेहरानका ठूला आवासीय भवनहरू भग्नावशेषमा परिणत भएको देखिएको छ, जसले मानवीय संकट थप गहिरिँदै गएको संकेत गर्दछ।


