काठमाडौँ। अस्ट्रेलियाले टेम्पोररी ग्राजुएट भिसाको शुल्कमा उल्लेखनीय वृद्धि भएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक विवरणअनुसार ४८५ भिसाको कुल शुल्क अब न्यूनतम ८,०६० अस्ट्रेलियन डलर पुगेको छ।
सार्वजनिक गरिएको शुल्क विवरणमा भिसा आवेदन शुल्क ४,६०० डलर तोकिएको छ भने १८ वर्षभन्दा माथिका अतिरिक्त आवेदकका लागि २,३०० डलर र १८ वर्षमुनिका लागि १,१६० डलर अतिरिक्त शुल्क निर्धारण गरिएको छ। यसरी एक मुख्य आवेदकसहित परिवारका सदस्य जोडिँदा कुल रकम ८,०६० डलर पुग्ने देखिएको छ।
आप्रवासन परामर्शदाता सनत गुप्ताले यसपटक कुनै पूर्वसूचना वा आधिकारिक जानकारीबिना शुल्क वृद्धि गरिएको दाबी गरेका छन्। उनले भिसा अवधि तत्काल समाप्त नहुने आवेदकलाई केही दिन पर्खेर थप स्पष्ट सूचना आउन कुर्न सुझाव दिएका छन्। तर, भिसा अवधि २–३ दिनभित्र सकिन लागेको अवस्थामा भने समयमै आवेदन दर्ता गरी नयाँ शुल्क तिर्नुपर्ने उनले बताएका छन्।
शुल्क वृद्धिले विशेषगरी अध्ययन पूरा गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्रभावित हुने अनुमान गरिएको छ। अस्ट्रेलियामा बसाइ लम्ब्याउन ४८५ भिसा प्रमुख माध्यम मानिँदै आएको छ। यस विषयमा अस्ट्रेलियाको गृह मन्त्रालयबाट आधिकारिक विस्तृत स्पष्टीकरण आउन बाँकी रहेको जनाइएको छ।