काठमाडौं । इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनेईको मृत्यु भएको भोलिपल्ट अलिरेजा आराफीलाई नयाँ अन्तरिम सर्वोच्च नेताको जिम्मेवारी दिइएको छ ।
६७ वर्षीय आराफी अली खामेनेईका निकट सहयोगी मानिन्छन् । उनले लामो समयदेखि इरानको धार्मिक र राजनीतिक व्यवस्थामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
आराफी एसेम्बली अफ एक्सपर्टस्का उपाध्यक्ष हुन् । जसलाई सर्वोच्च नेताले नियुक्त गर्छन् । उनी गार्जियन काउन्सिलका सदस्य समेत भइसकेका छन् । हाल उनी सेमिनरी प्रणालीको नेतृत्व गरिरहेका छन् ।
अब स्थायी सर्वोच्च नेता एसेम्बली अफ एक्सपर्ट्सले चयन गर्नेछ । खामेनेईको मृत्युपछि इरानमा ४० दिनको शोक र ७ दिने बिदा घोषणा गरिएको छ ।
इरानको संविधानको धारा १११ अनुसार जबसम्म नयाँ सर्वोच्च नेता चयन गरिँदैन तबसम्म एउटा अस्थायी परिषदले देशको जिम्मेवारी सम्हाल्नेछ ।
अलिरेजासहितको तीन सदस्यीय परिषदमा राष्ट्रपति मसुद पेजेशकियान र सर्वोच्च अदालतका मुख्य न्यायाधीश गुलाम हुसैन मोहसनी एजेई हुनेछन् ।