काठमाडौँ । पश्चिम एसियामा चर्किँदै गएको इजरायल–इरान सैन्य तनावका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। उडान रद्द भएपछि कतार, साउदी अरब, यूएई लगायतका गन्तव्यमा जान लागेका सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन्।
उडान सञ्चालन हुने समयबारे स्पष्ट जानकारी नआउँदा यात्रुहरू अन्योलमा परेका छन्। विमानस्थल परिसरमा सूचना टाँसिए पनि समस्या समाधान हुन नसकेको यात्रुहरूको गुनासो छ। एयरलाइन्स कम्पनीहरूले वैकल्पिक बसोबासको व्यवस्था नगर्दा धेरै यात्रु आफ्नै खर्चमा होटल फर्किन बाध्य भएका छन्। सरकारी तथ्याङ्कअनुसार खाडी मुलुकहरूमा ठूलो संख्यामा नेपाली कार्यरत रहेका छन्। यूएईमा ६ लाखभन्दा बढी, कतारमा करिब ५ लाख, साउदी अरबमा करिब ४ लाख ५० हजार तथा कुवेत, बहराइन र ओमानमा समेत उल्लेख्य संख्यामा नेपाली रोजगारीका लागि रहेका छन्। त्रिभुवन विमानस्थलबाट दैनिक ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिने गरेको अनुमान गरिएको छ।
परराष्ट्र मन्त्रालयले इजरायल, इरान तथा पश्चिम एसियाका अन्य देशमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय सुरक्षा निर्देशन पालना गर्न, अनावश्यक बाहिर ननिस्कन र पूर्वस्वीकृति बिना यात्रा नगर्न मन्त्रालयले सुझाव दिएको छ। अवस्था सामान्य नभएसम्म इजरायल वा इरान भ्रमण योजना स्थगित गर्न पनि अनुरोध गरिएको छ। यसैबीच, सरकारले मध्यपूर्वमा जारी तनावलाई मध्यनजर गर्दै खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य अस्थायी रूपमा स्थगित गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अर्को सूचना नआएसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति जारी नगरिने जानकारी दिएका छन्।