काठमाडौँ । सर्लाहीको मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न भएको आशंकामा महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतो लाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सिरहाको सुखीपुर नगरपालिका–६ घर भई मलंगवामा डेरा गरी बस्दै आएका यादवमाथि गत फागुन ३ गते डेरामा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गम्भीर घाइते उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा महतोले भारतीय सुटर प्रयोग गरी हत्या गराएको हुन सक्ने आशंका गरिएको छ। मृतक यादव र पक्राउ परेका महतो लोकसेवा आयोगमार्फत एउटै पदका प्रतिस्पर्धी रहेको खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका महतोमाथि जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। आज दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।