काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ‘ट्रम्प अर्गनाइजेसन’ले अस्ट्रेलियामा गगनचुम्बी भवन बनाउने घोषणा गरेको छ । कम्पनीका कार्यकारी उपाध्यक्ष एरिक ट्रम्पका अनुसार यो प्रस्तावित टावर अस्ट्रेलियाको अहिलेसम्मकै सबैभन्दा अग्लो भवन हुनेछ ।
यो परियोजना क्विन्सल्यान्डको गोल्ड कोस्टमा निर्माण गरिनेछ । यसको उचाइ ३३५ मिटर हुनेछ, जुन लन्डनको प्रसिद्ध ‘शार्ड’भन्दा पनि अग्लो हो । एरिकले अस्ट्रेलियामा यो कम्पनीको पहिलो आधिकारिक परियोजना हुने र यसले देशमा विश्वस्तरीय लक्जरी ब्रान्डको प्रतिष्ठा र आकर्षण ल्याउने बताएका छन् ।
बीबीसीका अनुसार ‘ट्रम्प इन्टरनेसनले होटेल एन्ड टावर, गोल्ड कोस्ट’को अनुमानित लागत कम्तीमा एक अर्ब डलर रहने बताइएको छ । होटेल निर्माण गर्ने ‘अल्टस प्रोपर्टी ग्रुप’का अनुसार यो ९१ तले भवनको निर्माण अगस्टदेखि सुरु हुनेछ ।