काठमाडौं । भारतको झारखण्ड राज्यको चत्रा जिल्लामा दिल्ली जाँदै गरेको एक एयर एम्बुलेन्स दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सोमबार साँझ सिमारिया क्षेत्र नजिकै दुर्घटना भएको हो । रेडबर्ड एयरवेज प्रा.लि.द्वारा सञ्चालित बिचक्राफ्ट सी-९० विमान साँझ ७:११ बजे राँची विमानस्थलबाट दिल्लीका लागि उडेको थियो । करिब ७:३० बजेदेखि विमान सम्पर्कविहीन भएको र पछि चत्रा जिल्लाको कासारिया पञ्चायत क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन् ।
दुर्घटनामा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सवराजदीप सिंह, सञ्जय कुमार, डा। विकास कुमार गुप्ता, सचिन कुमार मिश्रा, अर्चना देवी र धुरु कुमारको मृत्यु भएको पुष्टि गरिएको छ । सबै शव फेला पारेर पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
४१ वर्षीय सञ्जय कुमारलाई गम्भीर अवस्थामा उपचारका लागि राँचीबाट दिल्ली लैजान एयर एम्बुलेन्स व्यवस्था गरिएको थियो । उनी ६५ प्रतिशतसम्म जलेका कारण केही दिनदेखि देवकमल अस्पतालमा उपचाररत थिए । परिवारका सदस्यका अनुसार उनको अवस्था अत्यन्त नाजुक भएकाले सडकमार्गबाट लैजान सम्भव नभएको र चिकित्सकको सुझावमा एयर एम्बुलेन्स प्रयोग गरिएको थियो ।