काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ ।
घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए । उनीहरू सुरक्षित रहेको अधिकारीहरुले बताएका छन्।
स्थानीय सुरक्षा अधिकारीका अनुसार उक्त व्यक्तिलाई अमेरिकी स्टेट सिक्रेट सर्भिसका एजेन्ट र पाम बीच काउन्टी शेरिफका सुरक्षा अधिकारीहरुले रोक्ने प्रयास गरेका थिए । सुरुमा सुरक्षाकर्मीले ती व्यक्तिलाई हतियार छोड्न आदेश दिएका थिए । तर, उनले पेट्रोलको डिब्बा भुईंमा राखे पनि शटगन चलाउन खोजेपछि गोली चलाउनुपरेको पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार घटनास्थलबाट एक पेट्रोलको डिब्बा र शटगन बरामद भएको छ । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् ।