काठमाडौं । पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ। आइतबार बिहान सबेरै सीमावर्ती क्षेत्रमा गरिएको आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको मानवअधिकार संगठनले जनाएको छ ।
अल जजिराका अनुसार पाकिस्तानी सेनाले तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेटसँग सम्बन्धित सातवटा क्याम्प र ठेगानालाई निशाना बनाएको दाबी गरेको छ।
पाकिस्तान सरकारले हालै भएका आत्मघाती हमलाको जवाफस्वरूप ‘इन्टेलिजेन्स बेस्ड अपरेसन’ सञ्चालन गरिएको जनाएको छ। सूचना तथा प्रसारण मन्त्रालयले अफगान भूमिबाट सञ्चालित सञ्जालले पाकिस्तानमा आक्रमण गराएको पुख्ता प्रमाण रहेको दाबी गरेको छ।
अन्तर्राष्ट्रिय मानवअधिकार फाउन्डेशनका अनुसार यो घटनामा १६ जनाको मृत्यु भएको छ, जसमा महिला र बालबालिका पनि छन्। यद्यपि आधिकारिक तथ्यांक अझै सार्वजनिक भएको छैन।