काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै विश्वभरबाट अमेरिका भित्रिने सामानमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
यसअघि उनले लगाएको आयात करलाई अदालतले खारेज गरिदिएपछि क्रुद्ध बनेका ट्रम्पले नयाँ कानुनी बाटो रोज्दै करको दर थप बढाएका हुन्।
शुक्रबार मात्रै १० प्रतिशत शुल्क लगाउने बताएका उनले शनिबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत त्यसलाई बढाएर १५ प्रतिशत पुर्याएको जानकारी दिए।
ट्रम्पले सन् १९७४ को व्यापार ऐनको धारा १२२ प्रयोग गर्दै यो अस्थायी समाधान निकालेका हुन्। यो कानुन अनुसार सरकारले कंग्रेसको अनुमति बिना करिब पाँच महिनासम्म यस्तो शुल्क लागू गर्न पाउँछ।
सर्वोच्च अदालतले यसअघि ट्रम्पले इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट प्रयोग गरेर लगाएको करलाई अधिकार क्षेत्र बाहिरको भन्दै ६–३ को बहुमतले बदर गरिदिएको थियो। अदालतको उक्त फैसलालाई ट्रम्पले ‘हास्यास्पद, कमजोर र अमेरिका विरोधी’ भन्दै कडा आलोचना गरेका छन्।