काठमाडौँ । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक-यउललाई राजद्रोहको योजना बनाएको अभियोमा दोषी ठहर गरेको छ। उनी अख्तियार दुरुपयोगको अभियोगमा समेत दोषी ठहर भएका छन्।
सन् २०२४ को डिसेम्बरमा सैन्य शासन लागु गर्ने असफल प्रयास गरेको अभियोगमा मुद्दा चलाइएका यउलविरुद्धको सुनुवाइ बिहीवार बिहानैदेखि सुरु भएको थियो।
अभियोजनकर्ताहरूले सैन्य शासन लागु गर्ने प्रयास गरेको अभियोगका निम्ति मृत्युदण्डको सजाय हुनु पर्ने माग गरे तापनि उक्त मुद्दामा उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ।
सजाय सुनाइँदा यउल प्रत्यक्ष रूपमा उपस्थित थिए र सजायप्रति उनले अनुहारमा कुनै भाव दर्साएको देखिएन। न्यायाधीशले पूर्वराष्ट्रपति यउल संवैधानिक व्यवस्था उल्ट्याउन र संसदको कामलाई हिंसात्मक रूपमा दबाउन जिम्मेवार भएको बताएका थिए।
दक्षिण कोरियाले सजाय पाएका बन्दीहरूलाई मृत्युदण्ड दिन छाडेकाले व्यवहारिक रूपमा मृत्युदण्डको सजाय भनेको जन्म कैदको सजाय जस्तै हुन पुगेको छ।