काठमाडौँ । चीनमा भएको एक भीषण विस्फोटले १२ जनाको ज्यान लिएको छ । चन्द्र नयाँ वर्षको उल्लासबीच चीनको मध्य हुबेई प्रान्तको जिनपु गाउँमा बुधबार दिउँसो आतसबाजी तथा पटाका बिक्री गर्ने सामान्य पसलमा विस्फोट भएको थियो ।
राज्य प्रसारणकर्ता चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) ले बिहीबार अधिकारीहरूलाई उद्धृत गर्दै गहन खोजी तथा उद्धार कार्यपछि १२ जनाको मृत्यु पुष्टि भएको जनाएको छ । मृतकमध्ये सात जना वयस्क र पाँच जना नाबालिग रहेको बताइएको छ ।
सबै पीडितको पहिचान प्रमाणित भइसकेको जनाइएको छ । रिपोर्टअनुसार पसलका मालिक ‘मिस्टर लिन’ भनेर चिनिने एक व्यक्तिबाहेक बाँकी ११ जना आतसबाजी खरिद गर्न आएका ग्राहक थिए । मृत्यु हुने ग्राहकहरूमध्ये तीन जना करिब ७८० किलोमिटर टाढा रहेको चेङ्दुबाट आफ्ना आफन्तलाई भेट्न आएका थिए ।
चन्द्र नयाँ वर्षका अवसरमा विशेष गरी ग्रामीण क्षेत्रमा आतसबाजी र पटाखा फोड्ने परम्परा अत्यन्त लोकप्रिय छ ।