काठमाडौँ । शरीरलाई आवश्यक भिटामिन डीको प्रमुख स्रोत सूर्यको किरण भएको विज्ञहरूले बताएका छन्। नियमित रूपमा नियन्त्रित घाम ताप्दा हड्डी बलियो हुने, रोगप्रतिरोधी क्षमता बढ्ने र मानसिक स्वास्थ्यमा सुधार आउने चिकित्सकहरूको भनाइ छ।
प्राकृतिक चिकित्सकका अनुसार बिहान १५–२० मिनेट घाम ताप्दा शरीरले उल्लेख्य मात्रामा भिटामिन डी उत्पादन गर्छ। नेपालमा गरिएका विभिन्न अध्ययनले शहरी क्षेत्रमा बसोबास गर्ने धेरै व्यक्तिमा भिटामिन डीको कमी देखाएको छ। विशेषगरी दिनभर कार्यालयभित्र काम गर्ने, महिला, बालबालिका र वृद्धमा यसको अभाव बढी पाइन्छ। भिटामिन डीको कमी हुँदा हड्डी कमजोर हुने, जोर्नी दुख्ने, बारम्बार रुघाखोकी लाग्ने, डिप्रेसन तथा मुटुरोगको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्। घामको किरणले रक्तसञ्चार सुधार गर्ने, रक्तचाप नियन्त्रणमा सहयोग गर्ने र सेरोटोनिन हर्मोन बढाएर तनाव कम गर्ने प्रभाव पनि पार्ने उल्लेख गरिएको छ।आयुर्वेद र प्राकृतिक चिकित्सामा सूर्यस्नानलाई रोगनिवारक विधिका रूपमा लिइन्छ।
बिहान ७ देखि १० बजेसम्म वा साँझ ४ देखि ६ बजेसम्मको घाम उपयुक्त मानिन्छ। सुरुमा ५–१० मिनेटबाट प्रारम्भ गरी क्रमशः समय बढाउन सुझाव दिइन्छ। विज्ञहरूका अनुसार क्याप्सुलबाट लिने भिटामिन डीभन्दा प्राकृतिक रूपमा सूर्यको किरणबाट प्राप्त भिटामिन डी सुरक्षित र प्रभावकारी मानिन्छ। शरीरले आवश्यकता अनुसार मात्रै भिटामिन डी उत्पादन गर्ने भएकाले अत्यधिक मात्रा हुने जोखिम कम हुन्छ। स्वास्थ्य लाभका लागि नियमित र सावधानीपूर्वक सूर्यस्नान गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।