काठमाडौं । आज बंगलादेशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। ६० वर्षीय तारिक रहमानले मंगलबार संसद्को दक्षिण प्लाजामा शपथ लिने भएका छन्।
स्व. पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक पहिलो पटक प्रधानमन्त्रीको कुर्सी सम्हाल्दैछन्।
फेब्रुअरी १२ मा भएको चुनावमा बंगलादेश नेशनल पार्टी (बीएनपी)ले दुई तिहाइभन्दा बढी सिट जितेको छ। यो चुनाव विद्यार्थी आन्दोलनले २०२४ अगस्ट ५ मा शेख हसिनाको सरकार अपदस्थ गरेपछि भएको पहिलो हो। यस निर्वाचनमा हसिनाको अवामी लिगमाथि प्रतिबन्ध लगाइएको थियो भने अन्य दलले राम्रो नतिजा ल्याउन सकेनन्।
यो सँगै बीएनपी सन् २००१–२००६ पछि पहिलो पटक सत्तामा फर्किएको छ। खालिदा जियाको मृत्युपछि तारिकले पार्टीको नेतृत्व सम्हालेका थिए। उनी १८ वर्षपछि डिसेम्बरमा लन्डनबाट फर्किएका थिए।
शपथ ग्रहणअघि बिहान नवनिर्वाचित सांसदहरूले शपथ लिनेछन्। राष्ट्रपति मोहम्मद शहाबुद्दीनले नयाँ मन्त्रिपरिषद्लाई शपथ गराउनेछन्।
यो समारोहमा नेपालसहित १३ देशलाई निम्तो दिइएको छ। नेपालको प्रतिनिधित्व परराष्ट्र मन्त्री बालानन्द शर्माले गर्नेछन्।