काठमाडौं । खस भाषामा प्रकाशित गजल सङ्ग्रह ‘हियाका कुडा’ को विमोचन समारोह सम्पन्न भएको छ। युवा पुस्ताबीच लोकप्रिय गजलकार कमल संघर्षको यो तेस्रो गजल सङ्ग्रह हो। यसअघि उनका ‘सडक’ र ‘खुँडी’ गजलसङ्ग्रह बजारमा आइसकेका छन्।
विमोचन समारोहमा विवेक ओझा, साहित्यकार पूर्ण रावल तथा गजलकाररगीतकार शीतल कादम्बिनी ले ‘हियाका कुडा’ माथि समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए । वक्ताहरूले सङ्ग्रहमा प्रयोग भएको भाषिक सौन्दर्य, मौलिक भावभूमि र समसामयिक चेतना प्रशंसायोग्य रहेको उल्लेख गर्दै खस भाषाको लय, लचकता र जीवन्त शब्दावलीमार्फत गजलहरूले पाठकलाई आफ्नै माटो र परिवेशसँग जोड्ने सामर्थ्य राख्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै शीतल कादम्बिनीले ‘हियाका कुडा’ पढेपछि आफूलाई डाह र इख लागेको प्रतिक्रिया दिए । गजलहरू जति पटक पढ्दा पनि उति नै पुनस् पढ्न मन लाग्ने बताउँदै उनले आफूलाई मन परेको एक गजल गायनसमेत गरे । पूर्ण रावलले सङ्ग्रहको भाषा, मौलिक भावभूमि र खस भाषाको जीवन्तता अत्यन्त प्रभावकारी रहेको उल्लेख गरे। उनले कृति नयाँ पुस्तालाई खस भाषामा सिर्जना गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, विवेक ओझाले कमल आफ्नो समकालीन स्रष्टा भएको उल्लेख गर्दै उनका गजलबाट आफू सधैँ प्रभावित रहेको बताए । ‘हियाका कुडा’ मा पश्चिम नेपालको इतिहासलाई गजलसँग जोड्न सफल भएकोमा आफूलाई विशेष खुसी लागेको उनको भनाइ थियो। समीक्षकहरूले विशेषतस् काली–कर्नाली क्षेत्रको जनजीवन, समाज र संस्कृतिको जीवन्त चित्रणलाई कृतिको प्रमुख विशेषता भनेका छन्। स्थानीय भेगको पीडा, प्रेम, संघर्ष, विद्रोह र सामाजिक जागरणका स्वरहरू गजलमार्फत प्रभावकारी रूपमा अभिव्यक्त भएका छन्। यसले खस भाषाको साहित्यिक सम्भावनालाई थप फराकिलो बनाउँदै नयाँ पुस्तालाई मातृभाषामा सिर्जना गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा ४ वर्षीय अग्रिम भण्डारीले गजल सङ्ग्रहको शीर्ष गजल ‘हियाका कुडा’ वाचन गर्दै विशेष आकर्षण थपेका थिए। बालस्वरमा प्रस्तुत उक्त वाचनले उपस्थितलाई भावुक बनाएको थियो। गजलकार तपेन्द्र घोडासैनी को सञ्चालन तथा शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि न्याथन रायन, गजलकार लक्ष्मण संगम, महेश जैसी तथा मदन बुढा ले पनि सङ्ग्रहमा समावेश गजल वाचन गरेका हुन् । विमोचन कार्यक्रममा लेखक संघर्षले झण्डै १ दर्जन खस भाषामा गजलहरू वाचन गर्दै स्रोताहरूबाट वाह वाही बटुलेका थिए । शिखा बुक्स द्वारा प्रकाशित पुस्तकको मूल्य रु ३५० रहेको छ। ‘हियाका कुडा’ ले खस भाषाको साहित्यिक यात्रामा नयाँ आयाम थप्दै काली–कर्नाली क्षेत्रको आवाजलाई मूलधार साहित्यमा स्थापित गर्ने अपेक्षा गरिएको छ।