कोलोराडा । नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडोमा हुने भएको छ । आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले हिजो कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मे २२ देखि २५ (जेठ ८–११) सम्म सञ्चालन हुने जानकारी दिएका छन् ।
अध्यक्ष वाग्लेले नेपाली भाषा, साहित्यको सम्बद्र्धन, संरक्षण र विश्वव्यापीकरणमा योगदान पुर्याउदै आएको अनेसासले डायस्पोराको युवा पुस्तालाई नेपाली भाषा र साहित्यसंग जोड्न विभिन्न गतिविधि र कार्यक्रम गर्दै आएको बताए । अनेसास बोर्ड अफ ट्रष्टि (बीओटी)का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि झण्डै ५० हजार डलर खर्च हुने अनुमान गरिएको बताए ।
उनले सम्मेलन आयोजनाका लागि कोलोराडोको वेष्टमिनिष्टरस्थित होटल ड्रुरी इन प्लाजा चार दिनका लागि बुक गरिएको जानकारी दिए । नेपाली र अंग्रेजी साहित्यका लेखकहरुको जमघट रहने सम्मेलनमा दुबै भाषाका स्रष्टाहरुका बीचमा साहित्यका विविध विषयमा छलफल हुने अनेसास बोर्ड अफ ट्रष्टिका सभापति विश्वकर्माले बताए । विश्वकर्माले सम्मेलनमा नेपालभित्र रहेका विभिन्न भेग र भाषाका स्रष्टाहरुको समेत सहभागिता रहने बताए ।