जिउँदो आमाको
माया देखेनौ,
नौ महिनाको
गर्भावस्था देखेनौ,
१६ वर्षको
हुर्काइ देखेनौ,
अनि फेरि—
मरेको बाउ,
हराएको बाउ,
गुमाएको बाउ,
हुँदै नभएको बाउको
परिचय माग्छौ ?
त्यही नाभिबाट
बगेको रगत देखेनौ,
त्यही लाम्टा चुसेर
हुर्किएको जवान देखेनौ,
एक्ली आमाले गरेको
कुनै संघर्ष देखेनौ,
अनि फेरि -
अनाथ बनाउने,
अन्यायपूर्वक हराउने,
अपहेलित गराउने,
एक्लो बनाउने,
बाउको रगत सोध्छौ ?
छैन उत्तर मसँग,
एक्ली आमालाई
इज्जत दिलाउन,
मेहनत गरेर
संसार सजाउन,
नभएको बाउ
अगाडि टकार्न,
वाहियात प्रश्नको
उत्तर बुन्न,
बलिया बाँगाका समाजमा
हामी दुई अटाएनौँ।
त्यसैले साथी,
समाजले होइन,
बरु म समाजलाई
अस्वीकार गर्छु।
छैन उत्तर मसँग,
आमाको रगतले
धड्केको छ मुटु,
बाउको रगत
कहाँबाट खोजूँरु
बरिष्ठ पहिरनमा
ठाटिएकी तिमी,
जब मेरो अवस्थामाथि हाँस्छौ,
तब दाँज्न पुग्छु
तिमी र मेरी आमालाई,
अनि सोच्छु -
शिक्षाले तिमीलाई
कठोर बनायो !!
शिक्षाले तिमीलाई...
-ज्ञानु पराजुली