काठमाडौँ । १७औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागि स्क्रिप्ट आह्वान गरिएको छ । शैली थिएटरको आयोजना तथा ओजस थिएटरको सहकार्यमा हुने महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संघ, संस्था, नाट्य समूह, विद्यालय लगायतलाई नाटकको स्कृप्ट दर्ताका लागि आह्वान गरिएकाे हाे ।
'शैली थिएटरले हरेक वर्ष जस्तै यो वर्ष पनि राष्ट्रिय बाल नाटक महोत्सवका लागि स्कृप्ट आह्वान गरेको र नाटकको स्कृप्ट आगामी पुस २० गतेसम्म बुझाउन सकिने,' १७औँ राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले जानकारी दिए । 'विगत १६ वर्षदेखि शैली थिएटरले राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गर्दै हालसम्म सफलतापूर्वक निरन्तरता दिदैँ १७औँ राष्ट्रिय बाल नाटक महोत्सव आयोजनाकाे तयारीमा रहेकाे', शैली थिएटरका महासचिव सवीन न्यौपानेले बताए । नाटक महोत्सवका लागि छनौट भएका स्कृप्टलाई पुस २५ गते सार्वजनिक गर्ने तालिका रहेको', ओजस थिएटरका प्रमुख सागर कार्कीले बताए ।
महोत्सव सात दिनसम्म रुसी सदन, कमल पोखरीमा सञ्चालन हुनेछ । नाटकको स्कृप्ट रूसी सदन कमलपोखरी र रातोपुल स्थित शैली थिएटर तथा ओजस थिएटरमा बुझाउन सकिने छ । नाटकले बालबालिकाको मानोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न नपाउने नियम आयोजकले राखेको छ । त्यस्तै, नाटक ३० मिनेटदेखि बढीमा ७० मिनेटसम्मको हुनुपर्ने र मञ्चनमा पर्दा अगाडि र पर्दा पछाडि गरी बढीमा १५ जनासम्मको समूह सहभागी हुन पाइने जनाइएको छ ।
२०६६ सालदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटक महोत्सवमा पहिलो वर्ष ६ वटा नाटकहरू समावेश रहेका थिए । त्यस्तै, २०६७ सालमा १० ओटा नाटक मञ्चन भएका थिए भने, २०६८ सालमा ८ वटा, २०६९ सालमा १४ वटा, २०७० सालमा १० वटा, २०७१ सालमा १५ वटा, २०७२ सालमा १२ वटा, २०७३ सालमा १५ वटा, २०७४ सालमा १५ वटा, २०७५ सालमा २० वटा, २०७६ सालमा १८ वटा तथा, २०७७ सालमा १२ वटा, २०७८ सालमा १० वटा नाटक मञ्चन भएका थिए । रूसी सदन कमल पोखरीमा आयोजना भएको २०७९ सालको महोत्सवमा २९ वटा नाटक मञ्चन भएका थिए । त्यस्तै, २०८० सालमा १८ वटा र २०८१ सालमा १६ वटा नाटकहरू मञ्चन गरिएकाे थियाे ।
प्रतियोगी नाटकका लागि उत्कृष्ट अभिनेता पुरस्कार सात हजार, उत्कृष्ट निर्देशक पुरस्कार सात हजार, उत्कृष्ट नाटक पुरस्कार १० हजार, प्रोत्साहन पुरस्कार पाँच हजार, पब्लिक च्वाइस पुरस्कार पाँच हजार, अनुशासित नाटक पुरस्कार पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।