काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले निर्वाचन सम्पन्न भएलगत्तै वक्तव्य जारी गर्दै हिजो सम्पन्न निर्वाचनलाई मतदाताविहीन, अवैध र असंवैधानिक भन्दै खारेज गर्न माग गरेकी छिन् । सन् २०२४ को जनआन्दोलनबाट हसिना सरकार ढलेपछि बंगलादेशमा पहिलोपटक आम निर्वाचन भएको हो । हालै सम्पन्न निर्वाचनलाई छलपूर्ण संज्ञा दिँदै हसिनाले आफ्नो पार्टी—अवामी लिग र मतदाताहरूको अनुपस्थितिमा यो चुनाव गराइएको बताइन् ।
“यस्तो परिस्थितिमा हामी यो मतदाताविहीन, अवैध र असंवैधानिक निर्वाचनको खारेजी र युनुसको राजीनामा माग गर्दछौँ,” उनले भनेकी छन् । उनले राजनीतिक बन्दीका साथै शिक्षक, पत्रकार, बुद्धिजीवी र पेसाकर्मीहरूको रिहाइ, उनीहरूमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन पनि माग गरेकी छिन् ।
अवामी लिगका गतिविधिमाथि लगाइएको प्रतिबन्ध हटाउन र निष्पक्ष कामचलाउ सरकारको मातहतमा स्वतन्त्र, निष्पक्ष र समावेशी निर्वाचनमार्फत जनताको मताधिकार पुनस्र्थापना गर्न जोड दिएकी छन् ।हसिनाले मतदानमा जनताको सहभागिता अत्यन्त न्यून रहेको र ढाकालगायत देशका अन्य भागका मतदान केन्द्रहरू मतदाताविहीन तथा पूर्णरूपमा खाली रहेको दाबी गरिन् ।
उनले भनिन्, “निर्वाचन आयोगको ब्रिफिङ अनुसार बिहान ११ बजेसम्म (साढे तीन घण्टामा) जम्मा १४.९६ प्रतिशत मात्र मतदान भएको छ । मतदानको मुख्य समयमा देखिएको यो न्यून सहभागिताले जनताले अवामी लिगबिनाको यो निर्वाचनलाई बहिष्कार र अस्वीकार गरेको पुष्टि गर्छ ।” “फेब्रुअरी ११ को साँझदेखि नै मतदान केन्द्र कब्जा गर्ने, गोली प्रहार गर्ने, भोट किन्न पैसाको व्यापक प्रयोग गर्ने, मतपत्रमा छाप लगाउने र नतिजा सिटमा एजेन्टहरूलाई जबर्जस्ती हस्ताक्षर गराउनेजस्ता प्रहसनहरू सुरु भएका थिए,” उनले दाबी गरिन् ।
हसिनाले पछिल्ला दिनहरूमा अवामी लिगका समर्थक र अल्पसंख्यक समुदायलाई जबर्जस्ती मतदान केन्द्रसम्म लैजान आक्रमण, गिरफ्तारी र त्रासको वातावरण सिर्जना गरिएको बताइन् । हाल बंगलादेश नेसनलिस्ट पार्टीका तारिक रहमान अर्को सरकार बनाउने मुख्य दाबेदारका रूपमा देखिएका छन् । पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा रहमान १७ वर्षको लन्डन निर्वासनपछि गत डिसेम्बरमा बंगलादेश फर्किएका थिए । रहमानले लोकतान्त्रिक संस्थाहरूको पुनर्निर्माण, विधिको शासन स्थापना र संकटग्रस्त अर्थतन्त्रको पुनरुत्थान गर्ने वाचा गरेका छन् ।