काठमाडौँ । बंगलादेशमा सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेशनल पार्टी (बीएनपी) ले बहुमतसहित ऐतिहासिक जित हासिल गरेको छ। ३०० सदस्यीय संसद्मा बीएनपीले १८५ सिट जित्दै साधारण बहुमतको सीमा पार गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यो निर्वाचन सन् २०२४ मा युवापुस्ताको नेतृत्वमा भएको आन्दोलनपछि भएको पहिलो संसदीय चुनाव हो, जसले तत्कालीन प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारलाई सत्ताबाट बाहिरिन बाध्य बनाएको थियो। लामो समयसम्म सत्तामा रहेको अवामी लिग यस पटक निर्वाचनमा सहभागी हुन पाएको थिएन।
यो संगै बीएनपीका प्रमुख नेता तारिक रहमान प्रधानमन्त्री बन्ने भएका छन् । उनले गरिब परिवारलाई आर्थिक सहयोग, एक व्यक्तिलाई अधिकतम १० वर्ष मात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था, वैदेशिक लगानीमार्फत अर्थतन्त्र सुदृढीकरण र भ्रष्टाचार नियन्त्रणका नीति अघि सारेका थिए।
यस्तै बीएनपीका मुख्य प्रतिस्पर्धी जमात-ए-इस्लामीले ५६ सिट जितेको छ। पार्टी प्रमुख शफिकुर रहमानले पराजय स्वीकार गर्दै सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।
निर्वाचनलाई पछिल्ला वर्षहरूकै सबैभन्दा प्रतिस्पर्धात्मक मानिएको छ। ५० भन्दा बढी दल र करिब दुई हजार उम्मेदवार प्रतिस्पर्धामा थिए। मतदान प्रतिशत ६० प्रतिशतभन्दा माथि पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो निर्वाचनको ४२ प्रतिशतभन्दा उल्लेखनीय रूपमा बढी हो।
निर्वाचनसँगै संवैधानिक संशोधनसम्बन्धी जनमतसंग्रह पनि गरिएको छ। प्रस्तावित सुधारमा निर्वाचन अवधिमा तटस्थ अन्तरिम सरकार गठन, द्विसदनीय संसद् व्यवस्था, महिलाको प्रतिनिधित्व वृद्धि, न्यायपालिकाको स्वतन्त्रता सुदृढीकरण तथा प्रधानमन्त्रीका लागि दुई कार्यकालको सीमा निर्धारणजस्ता प्रावधान समावेश छन्।