काठमाडौं । टर्कीको संसद्मा बुधबार सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच कुटाकुट भएको छ । विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै झगडा र कुटपिट भएको हो ।
विपक्षी सांसदले राष्ट्रपति रेसेप तैयप एर्दोगानले न्याय मन्त्रालयको जिम्मेवारी दिएका विवादास्पद इस्तानबुलका मुख्य अभियोजक अकिन गुरलेकलाई संसद्मा शपथग्रहण गर्नबाट रोक्ने प्रयास गरेका थिए ।
तनाव बढ्दै जाँदा सांसदहरूले एकार्कालाई धकेलिरहेको देखिएको थियो । केहीले मुक्का पनि हानेका थिए । इस्तानबुलका मुख्य अभियोजकका रूपमा गुरलेकले मुख्य विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी)का धेरै सदस्यमाथि मुद्दाको नेतृत्व गरेका थिए । ती मुद्दालाई विपक्षीले राजनीतिक प्रेरित भन्दै लामो समयदेखि निन्दा गर्दै आएका छन् ।
पूर्वअभियोजक गुरलेकलाई पछि सत्तारूढ दलका सांसदले घेरेर शपथ गराए । एर्दोगानले पूर्वी प्रान्त एर्जुरुमका गभर्नर मुस्तफा चिफ्त्चीलाई गृहमन्त्री नियुक्त गरेका छन् ।