काठमाडौँ । बंगलादेशले झण्डै चार दशकपछि नयाँ प्रधानमन्त्री पाउने भएको छ। सन् १९९१ देखि २०२४ सम्मको अवधिमा आलोपालो गर्दै सत्ता सञ्चालन गरिरहेकि तत्कालिन प्रधानमन्त्री शेख हसिना युवा विद्यार्थी विद्रोहबाट चर्किएको आन्दोलनसँगै भागेपछि र पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएपछि पहिलोपटक आज (बिहीबार) संसदीय चुनाव भइरहेको छ।
जुन चुनावले बंगलादेशलाई ३५ वर्षपछि नयाँ प्रधानमन्त्री दिनेछ । जारी चुनावमा प्रधानमन्त्री पदका लागि प्रमुख दाबेदारका रुपमा बंगलादेश राष्ट्रवादी (बीएनपी) पार्टीबाट खालिदा जियाका छोरा तारिक रहमान अगाडि सरेका छन् ।
त्यस्तै जमात -ए -इस्लामी पार्टीका नेता शफिकुर रहमान, र राष्ट्रिय नागरिक पार्टी (एनसीपी)का नेता नाहिद इस्लाम पनि प्रधानमन्त्रीको दाबेदार हुन्। यी तिन जना बिचको दाबेदारी निकै प्रतिस्पर्धात्मक र रोचक छ। बीएनपी पार्टी विजयी भएको खण्डमा रहमान बंगलादेशको प्रधानमन्त्री हुने निश्चित छ। त्यस्तै देशमा कट्टरपन्थी मुस्लिम दल जमात-ए-इस्लामी र युवा दल एनसीपीप्रतिको समर्थन पनि बढ्दो क्रममा छ।