एजेन्सी– दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ भने २७ जना अझै बेपत्ता रहेको फिलिपिन्स कोस्ट गार्ड (पीसीजी)ले बुधबार जनाएको छ।
पीसीजीका अनुसार ‘एमभी त्रिशा केस्र्टिन–३’ नामक डुङ्गामा कूल ३७२ जना सवार रहेको प्रमाणित भएको छ। डुङ्गा दुर्घटनापछि दुई सातासम्म गरिएको अनुसन्धान र विभिन्न निकायसँगको तथ्य प्रमाणीकरणपछि अद्यावधिक विवरण सार्वजनिक गरिएको हो।
प्रारम्भिक अनुसन्धानका आधारमा जीवित उद्धार गरिएका व्यक्तिको सङ्ख्या २९३ पुगेको जनाइएको छ। पूर्ण पहिचान तथा प्रमाणीकरण प्रक्रियापछि सूचीमा रहेका यात्रु र अघोषित चालक दलका सदस्यसमेत समावेश गर्दै तथ्यांक परिमार्जन गरिएको पीसीजीले स्पष्ट पारेको छ।
उद्धार टोलीले बेपत्ता व्यक्तिको खोजी कार्य जारी राखेको जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।