क्यानडाको व्रिटिश कोलम्बिया प्रान्तस्थित टम्बलर रिड्जमा रहेको एक माध्यमिक विद्यालयमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ। घटनामा करिब २५ जना घाइते भएका बताइएको छ।
मृतक तथा घाइतेको विस्तृत परिचय खुल्न बाँकी छ। गोली चलेपछि विद्यालय क्षेत्र सिल गरिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरिएको छ। स्थानीय जनप्रतिनिधिहरूले सर्वसाधारणलाई सुरक्षित रहन र अनावश्यक भीड नगर्न आग्रह गरेका छन्।
उक्त विद्यालयमा कक्षा ७ देखि १२ सम्मका झन्डै दुई सय विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ। रोयल क्यानेडियन माउन्टेड प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार सूचना पाएलगत्तै टोली घटनास्थलमा पुगेको थियो। त्यहाँ पुग्दा केही व्यक्ति मृत तथा धेरै घाइते अवस्थामा भेटिएका थिए। आक्रमणमा संलग्न मानिएको एक व्यक्ति पनि मृत फेला परेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन्।