काठमाडौँ । आज ‘एआई संचालित इन्टरनेटमा स्मार्ट प्रविधि, सुरक्षित विकल्पहरू’ भन्ने नाराका साथ विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ। बालबालिका र युवाहरूले डिजिटल प्रविधि सुरक्षित र सकारात्मक रूपमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाइन्छ। यसले डिजिटल सुरक्षाबारे जनचेतना बढाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा छलफलको थलो पनि उपलब्ध गराउँछ।
युरोपेली आयोग तथा युरोपका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ र इनहोप संस्थाको संयोजनमा सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी देशमा मनाइन्छ। नेपालमा भने चाइल्ड सेफ नेटले सन् २०१९ देखि यसको समन्वय र प्रवर्धन गर्दै आएको छ। सूचना तथा सञ्चार प्रविधि तीव्र रूपमा बढ्दै जाँदा यससँगै अनलाइन जोखिमहरू पनि बढिरहेका छन्।
विशेषगरी बालबालिका र युवाहरू डिजिटल प्रविधिका बढी प्रयोगकर्ता भएकाले अनलाइन यौन दुव्र्यवहार, साइबर बुलिङ, फिसिङ र सेक्स्टोर्सनजस्ता खतराको जोखिममा पर्न सक्छन्। यस्ता जोखिमले बालबालिकाको मानसिक र बौद्धिक विकासमा असर पार्न सक्छ भने आत्मविश्वास र आत्मसम्मानमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना हुन्छ। त्यसैले इन्टरनेटलाई सुरक्षित बनाउने जिम्मेवारी बालबालिका, अभिभावक, शिक्षक र सरकार सबैको साझा दायित्व हो।