पर्सा। पर्सामा एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।
आज बिहान जिल्लाको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा राखिएको अवैध कपडा गोदाममा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले गोदाममा छापा मारेको थियो।
छापाका क्रममा करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएर ढुंगामुढा गरेका थिए। सोहि क्रममा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा तीन सशस्त्र प्रहरी घाइते भएका हुन्।
आक्रमणका क्रममा सशस्त्र प्रहरी बल नेपालको एक वानटेन र एक स्कार्पियो गाडीमा समेत क्षति पुगेको सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । हाल घाइते सशस्त्र प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ। बरामद गरिएको सामान सम्बन्धित निकायमा बुझाउने र तस्करमाथी कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए ।