काठमाडौँ । ओमानको राजधानी मस्कटमा इरान र अमेरिकी वरिष्ठ अधिकारीबीचको कुराकानी सम्पन्न भएको छ ।
छलफलपछि सरकारी टेलिभिजनमा इरानी विदेशमन्त्री अब्बास अरागचीले आगामी कुराकानीका लागि सल्लाह लिन आफ्नो राजधानी फर्किने बताएका छन् । तर शुक्रबारको छलफललाई उनले सकारात्मक सुरुवात बताएका छन् ।
इरानले छलफल परमाणु कार्यक्रममा मात्र सीमित हुने बताएको थियो । अमेरिका इरानबाट परमाणु कार्यक्रम रोक्ने र एनरिच्ड युरिनियम मौजदात अन्त्य गर्ने माग गरिरहेको छ ।
अमेरिकाले कुराकानीका क्रममा इरानका ब्यालेस्टिक मिसाइल र अन्य क्षेत्रका सशस्त्र समूहका लागि इरानको समर्थनको विषय पनि समावेश गरिनुपर्ने बताएको थियो ।
शुक्रबारको कुराकानीपछि इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेखेका छन्, ‘दुवै पक्षबीचको कुराकानी जारी राख्ने सम्झौताअन्तर्गत यो बैठक सम्पन्न भयो । दुवै पक्षले आ–आफ्नो दृष्टिकोण र माग राख्दै आ–आफ्ना नेताहरुसँग सल्लाहपछि छलफललाई अगाडि लैजाने विषयमा सहमति भएको छ ।’