काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अघि सुरक्षाकर्मीले राजीनामा दिन र बिदामा बस्न नपाउने भएका छन् । २१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षामा खटिनुपर्ने भएपछि चारवटै सुरक्षा निकायले मातहतका कर्मचारीलाई राजीनामा दिन र बिदा बस्न रोक लगाएका हुन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक परिपत्र गर्दै राजीनामा र घरबिदामा बस्न रोक लगाएका छन् ।सशस्त्र प्रहरीले विज्ञप्तिमार्फत नै निर्वाचन सम्पन्न नभएसम्मलाई राजीनामा, घरबिदा, रमाना र सरुवा स्थगित गरिएको जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले फौजलाई निर्वाचनमा केन्द्रित गरिसकिएको बताए । नेपाल प्रहरीका प्रवक्ता डीआइजी अविनारायण काफ्लेले चुनाव सम्पन्न नभएसम्मलाई राजीनामा र बिदामा बस्न देशभरका प्रहरीलाई रोक लगाइएको बताए ।
निर्वाचन सुरक्षाका लागि सवा तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । त्यसमध्ये सेनाले बुधबारबाट जनशक्तिलाई फिल्डमा खटाउन सुरु गरेको छ । निर्वाचनमा करिब ८० हजार सेना, करिब ७१ हजार प्रहरी, करिब ३५ हजार सशस्त्र, करिब दुई हजार राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति खटाउने गरी निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना बनेको छ ।
कार्ययोजनाअनुसार ४० दिन कार्यअवधि तोकेर एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट आधारभूत सुरक्षारअनुशिक्षण तालिम लिइरहेका छन् । केहि दिनपछि निर्वाचन प्रहरी पनि फिल्डमा खटिनेछन् ।