काठमाडौं । अमेरिका र इरानका अधिकारीहरूले शुक्रबार ओमानमा हुने वार्ताको पुष्टि गरेका छन् । दुवै देशले इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता ओमानको राजधानी मस्कटमा हुने बताए ।
वार्तामा सहमति नभएको समाचारहरूबीच इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “म ओमानी दाजुभाइहरूलाई आवश्यक सबै व्यवस्था गरेकोमा कृतज्ञ छु ।”
अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरूले पनि शुक्रबार ओमानमा हुने वार्ताको पुष्टि गरेका छन् । साताको सुरुमा अमेरिकी अधिकारीहरूले यो वार्ता टर्कीमा हुने सम्भावना व्यक्त गरेका थिए ।
वार्ताको पुष्टि भए पनि दुवै पक्षले स्पष्ट एजेन्डा सार्वजनिक गरेका छैनन् । तेहरान वार्ता पश्चिमसँग लामो समयदेखिको आणविक कार्यक्रम विवादमा मात्र सीमित रहनुपर्ने चाहन्छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने आणविक कार्यक्रमसँगै इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम, मध्यपूर्वमा तेहरान समर्थित लडाकु समूहहरूको भूमिका र इरानमा प्रदर्शनकारीमाथि कारबाहीमा पनि छलफल हुने बताएका छन् ।